काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटी सम्बन्धी तालिम प्रदान गर्ने भएको छ ।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटी सम्बन्धी तालिम दिन लागेको हो।
गौरवको योजना अन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरुप साइबर सेक्युरिटीमा ४ हजार जनशक्ति उत्पादन गर्न लागेको हो।
महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेशाकर्मीहरुलाई तालिममा साइबर सुरक्षा सीप रोजगार मूलक शिक्षा हो । यसले व्यक्तिलाई सीपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिन्छ भने साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।
गत बर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिने उहाँले बताउनुभयो।
झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ तर अहिले सम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन ।
‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाई अरुले दुरुपयोग गरिरहेको हुनसक्छ भने कहिलेकाहीँ सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ। इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन हामीले यसको थालनी गरेका हौँ,’ यो तालिम यहि माघ २ गतेबाट सुरु हुने उहाँले बताउनुभयो।