भोजपुरको पौवादुङ गाउँपालिकाले वडा स्तरबाट अपाङ्गता परिचय पत्र वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीय नागरिक खुसी भएका छन् । असक्त नागरिकलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले अभियान सञ्चालन गरेपछि उनीहरु खुसी भएका हुन् । 

गाउँपालिकाले मङ्गलबार वडा नं-१ श्यामशिलामा शिविरमार्फत १२ जनालाई अपाङ्गता परिचय पत्र वितरणसँगै ३९ जनाको स्वास्थ्य परीक्षण गरेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनभयो । गाउँपालिकाले यहाँका ६ वटै वडामा अभियान सञ्चालन गरेर शिविरमार्फत सेवा प्रवाह गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो ।

 अभियानमार्फत पुस २४ गते वडा नं-१ श्यामशिला, पुस २५ मा वडा नं-२ तिवारीभञ्ज्याङ, पुस २६ गते वडा नं-३ च्याङ्ग्रे, पुस २८ गते वडा नं-४ वास्तिम, पुस २९ गते वडा नं-५ सानोदुम्मा र माघ २ गते वडा नं-६ ठुलोदुम्मामा  सेवा प्रवाह गरिने प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनभयो ।

गाउँपालिकाका नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने लक्ष्यले अभियानमार्फत  सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो। गाउँपालिकाको सेवालाई सहज र सरल तरिकाले जनस्तरम्म पुयाउने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईको भनाइ छ ।

हामीले अभियानमार्फत सवै वडाबाट अपाङ्गता परिचय पत्र वितरणसँगै शिविर सञ्चालन गरि सहज रुपमा गाउँपालिकाको सेवा जनस्तरमा पुयाउने उद्देश्यले सेवा दिएका हौँ। यसले नागरिकलाई गाउँपालिकाको सेवा लिन सहजता भएको छ।

नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यका साथ वडास्तरबाट परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो।अभियानमार्फत प्रवाह गरिएको सेवाले शारीरिक रुपमा असक्त नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ ।