धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताउनुभयो ।
पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमा पर्ने अवस्था आएकाले यसको संरक्षणमा जुटेको र आफ्नो उद्योगमा उत्पादन भएका खुकुरी भोजपुर सदरमुकामसँगै स्थानीय बजारमा बिक्री गर्दै आएको उहाँको भनाइ छ । आफूले भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडा लगायतका खुकुरी बनाई स्वदेशमा नै कालिगड पेसा गरेर परिवारको घर खर्च धान्दै आएको उहाँले बताउनुभयो ।
“विदेशप्रतिको मोह त्यागेर पुर्ख्यौली कालिगड पेसा गर्दै आएको छु”, उहाँले भन्नुभयो, “हामीजस्ता नयाँ पुस्ताले संरक्षणमा ध्यान नदिने हो भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ । यसको संरक्षण गर्दै नयाँ पुस्तासम्म सीप हस्तान्तरण गर्ने मेरो लक्ष्य छ ।” विभिन्न प्रकारका खुकुरी बनाउँदै आएको भए पनि मोफसलमा व्यवसाय सञ्चालन गरेकाले बजारीकरणमा केही समस्या रहेको उहाँको भनाइ छ । कतिपय खण्डमा मेहनतअनुसारको आम्दानी लिन समस्या हुने गरेको उहाँले बताउनुभयो ।