महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डमा गए राति दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भङ्गहा –५ का ३१ वर्षीय श्री राम गोसाई र बर्दिबास नगरपालिका प्रेम नगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरूको बर्दिबास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहको छ । राति  जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज ११प ८०९९ नं.को मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको गिरीले बताउनुभयो । 

बाक्लो हुस्सुका कारण तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई  नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएको र उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो ।