झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटर साइकल चालक कन्काई नगरपालिका–८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ ।

शनिबार साँझ भएको दुर्घटनामा अन्य दुई जनामा कन्काई नगरपालिका–५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी–७ का सागर माझी गम्भीर घाइते भएका छन् ।

साँझ ६ बजे पिकनिक गएर इलामबाट फर्कँदै गरेको धरान–विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ ख ९०१४९ नम्बरको बससँग मे १ प ७२४८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
 
पश्चिमतर्फ जाँदै गरेको बसलाई तीन जना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो । घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुयाएपछि चिकित्सकले मृत घोषणा गरेका ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो।