नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार काठमाडौँमा ‘बि.पी. वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले अहिलेको सरकारले र अहिलेको नेपाली कांग्रेससहितका पार्टीहरूले राम्रो काम गर्न नसकेको जाहेर गरेका हुन् ।
दैनिक हजारौँ मानिसहरू विदेश गइरहेकोप्रति पनि उनको गुनासो थियो । ‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली काँग्रेस वा अरू पार्टीहरूले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो । गर्न सकिरहेको छैनन् । तर हामी एउटा बाटोमा छौँ । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ । निश्चय नै शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय छ । ५० औँ लाख मानिस विदेश छन् ।
यादवले देशको अस्तित्व कायम राख्नका लागि पनि आम जनताहरू एक हुनुपर्ने बताए । उनले भने, ‘ हामीले पछि फर्किएर हेर्ने समय छैन । हामी बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ । यो देश, राष्ट्रको अस्तित्व कायम रहोस् भनेर काम गर्नुपर्छ ।