मूल्यलगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो ।

मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवीका नगेन्द्रकुमार खाण ठकुरीले एक सयभन्दा बढीको सङ्ख्यामा तेजपातका झाङ लगाउनुभएको छ । वर्षमा एक पटक मात्र काट्न मिल्ने तेजपातको उत्पादनका हिसाबले कम मूल्य पाएको उहाँले बताउनुभयो । ठकुरीले करिब १४ वर्षअघि लगाउनुभएको उक्त झाङले चार वर्षअघिदेखि उत्पादन दिन थालेका हुन् ।

मोरङका उत्तरी भेगका पहाडी पालिका र धनकुटा, पाँचथर र इलाम जिल्लाका दक्षिणी गाउँको सम्पूर्ण उत्पादन लेटाङमा सङ्कलन हुने गरेको छ । लेटाङसँग पहाडी गाउँको सडक सञ्जाल जोडिएपछि तेजपातका व्यापारी मोरङको लेटाङ र केराबारी बजारमा काँटा थापेर बसेका छन् । तेजपात नेपालका मसला उद्योग र भारततर्फ निकासी हुने गरेको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा विराटनगर भन्सार कार्यालयबाट आठ करोड ५७ लाख ३० हजार मूल्य बराबरको एक हजार दुई सय ७५ मेट्रिक टन तेजपात भारत निकासी भएको थियो ।

चालु आर्थिक वर्षको मङ्सिरसम्ममा दुई करोड ८१ लाख छ हजार मूल्य बराबरको चार सय मेट्रिक टन तेजपात निर्यात भएको छ । नेपालको महाभारत पर्वतीय शृङ्खलामा समुद्री सतहबाट एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उच्च क्षेत्रमा तेजपातको रूख हुने गरेको छ । यो एक सदाबहार ठुलो झ्याम्म परेको रुख हो । यसको पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ । यसको वर्षमा एक पटक असोजदेखि चैतसम्म रूखको हाँगाहरू भाँचेर झिकिन्छ ।