ताप्लेजुङका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै आत्मनिर्भर बन्दै गएका हुन् । आफूले सिकेका सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने यहाँका महिलाको भनाइ छ ।
उद्यमी बन्न चाहने महिलालाई विभिन्न सङ्घसंस्था तथा स्थानीय तहले आवश्यक सीपका लागि तालिम दिनुका साथै उद्योग स्थापना गर्नका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध गराएर गाउँगाउँमा महिलालाई प्रोत्साहन गर्दै आएका छन् ।
हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ नगरपालिका–१० वडाको समन्वय तथा रेड पाण्ड नेटवर्क, फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुईमहिने अल्लो प्रशोधन तथा कपडा उत्पादन तालिम बिहीबार सम्पन्न भएको छ । फुङ्लिङ–१० फुरुम्बु गाउँका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।
फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको प्रमाणपत्र सिरानी बनाएर थन्क्याएर नबस्न अनुरोध गर्नुभयो । नगरपालिकाको लगानी र सहभागीको समय खर्च भएकाले उद्यम सुरु गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नगरप्रमुख मादेनले भन्नुभयो, “तालिम दियौँ । अब उद्यम सुरु गरौँ । स्थानीय सरकार सयहोग गर्न तयार छ ।” जङ्गलमा कुहिएर खेर जाने अल्लोबाट धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्नुपर्ने भन्दै उद्यम गर्न चाहनेलाई नगरपालिकाले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।