गोरखामा ‘सम्भव नेपाल’ नामक गैरसरकारी संस्थाले छ स्थानीय तहलाई एम्बुलेन्स वितरण

गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स वितरण गरिएको छ । गोरखा सदरमुकाममा बिहीबार ‘सम्भव  नेपाल’ नामक गैरसरकारी संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको हो । 

गण्डकी, आरुघाट, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक र चुमनुब्री गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए । वितरण गरिएका एम्बुलेन्स ‘ख’ वर्गका हुन् ।

संस्थाले उपलब्ध गराएको एम्बुलेन्स गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरु संयुक्तरुपमा साँचो हस्तान्तरण गरे । एम्बुलेन्ससँगै संस्थाले पालिकालाई औषधिसमेत उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए ।

एम्बुलेन्स तथा औषधिसहित संस्थाले पालिकालाई करिब दुई करोड ८० लाख बराबरको सामग्री वितरण गरेको हो । संस्थाले पालुङटार नगरपालिकालाई पनि केही समयपछि एम्बुलेन्स उपलब्ध गराउने जनाएको छ। यसअघि पनि संस्थाले गोरखा विभिन्न पालिकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।