विराटनगर–१८ झटियाईस्थित मुसहरी टोलको नयाँ बस्तीबाट ४५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान गाँजा ओसारपसारमा संलग्न भएको आशंकामा विराटनगर महानगरपालिका–१८ का १९ वर्षीय नन्दु यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारततर्फ कटाउन खेतमा भण्डारण गरेर राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो । 

प्लाष्टिकमा प्याक गरी खेतमा परालले छोपेर राखेको बेवारिसे अवस्थामा गाँजा फेला परेको थियो । त्यस लगत्तै यादव पक्राउ परेका हुन् ।खेतमा गाँजा लुकाएर राखेको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद भएको गाँजा र पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।