विराटनगर,१८ पुस

कोभिड–१९ को सब भेरियन्ट जेएन–१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेपछि विराटनगर महानगरपालिकाले समेत छलफल सुरु गरेको छ। कोभिड—१९ को सब भेरियन्ट जेएन–१ संक्रमण दर उच्च रहेको र छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । मन्त्रालयले सीमा जोडिएका जिल्लाहरुमा सतर्कता अपनाउन आग्रह गरेसँगै विराटनगर महानगरपालिकाले बुधबार नै छलफल राखेको छ ।

महानगरपालिका स्वस्थ्य महाशाखा प्रमुख हैदर अलीले के–के गर्ने भन्ने कुरा यकिन नभएपनि स्वास्थ्य मन्त्रालयले तोकेको माददण्ड कार्यन्वयनका विषयमा छलफल गरिने बताएका छन् । भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ।

कोभिड—१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रिनिङ र निगरानी लाई चुस्त राख्ने तयारी सुरु गरिएको छ ।

सामान्यतः यो प्राकृतिक पनि हो । यो भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो अवस्थामा स–सना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरुपको विकास हुन्छ । जसलाई नयाँ भेरियन्टको उत्पति भएको मानिन्छ । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने अनुमान गरिएको छ ।