सुन्दरहरैँचा(मोरङ), १७ पुस

मेरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित पूर्वाञ्चल विश्वविद्यालयमा जंगली हात्ती पसेर सोमबार राति वितण्डा मच्चाएको छ । प्रहरीका अनुसार विश्वविद्यालय परिसरभित्र हात्तीले प्रवेश गरेरक्षति पुर्याएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले हात्तीले कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा क्षति गरेको र झ्याल र ढोकाको सिसा फुटाउनुका साथै किचनको चुल्हो भत्काइदिएको जानकारी  दिनुभयो । 

त्यस्तै हात्तीले सुन्दरहरैँचा नगरपालिका–७ मा लेखनाथ प्रसाईंले लगाउनुभएको २ बिघा क्षेत्रफलको केरा खाइदिनुका साथै केरा खेतीमा ५० हजार मूल्य बराबरको क्षतिसमेत पु¥याएको प्रहरीले जानकारी दिए।

 यसैबीच हात्तीले सुन्दरहरैँचा नगरपालिका–७ स्थित एउटा घरमा समेत क्षति पुर्याएको छ । कृष्णबहादुर तामाङको टिनको छानो र बाँसको टाटीबेरा भएको १ तले घर भत्काइदिएको छ । प्रहरीका अनुसार हात्तीले घर भत्काउँदा ५० हजार बराबरको क्षति भएको छ । घरमा क्षति गरेर हात्ती जंगलतर्फ लागेको डीएसपी दाहालले बताउनुभयो । हात्तीले वितण्डा मच्चाउन थालेपछि सर्वसाधारणलाई सचेत गराउन र हात्तीलाई बस्तीमा पस्न नदिने उपाय खोज्न प्रहरी चौकी गछियाबाट प्रहरी नायव निरीक्षक सूर्यबहादुर बस्नेतको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

 सुन्दरहरैँचा नगरपालिका–१० मा गोली हानेर सोमबार बिहान एउटा जंगली हात्तीको हत्या गरिएको थियो । त्यसपछि हात्तीको बिज्याइँ बढेको छ । सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीका अनुसार आफ्नो समूहमा रहेको हात्ती मारिएपछि अन्य हात्तीहरु आक्रोसित भएर क्षति पुर्याउन थालेको हुनसक्छ । हात्तीबाट जोगिन सर्वसाधारणलाई रातको समयमा सजक र सतर्क रहेर बस्न र एक्लै हिँडडुल नगर्न आग्रह गरिएको माझीले बताउनुभयो ।