सुन्दरहरैचा (मोरङ), १६ पुस
मोरङको सुन्दरहरैँचामा गोली हानेर मारेको अवस्थामा जंगली हात्ती मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडा स्थित जन जागरण सामुदायिक वनभित्र सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिनुभयो।
उनका अनुसार मृत फेला परेको हात्तीको पुच्छर पनि छैन। घटनाको प्रकृति हेर्दा गोली हानेर मारेपछि हात्तीको पुच्छर काटेर लगेजस्तो देखिने माझीले बताउनुभयो। माझी नेतृत्वको वन कर्मचारीको टोली र प्रहरी अहिले घटनास्थलमा छ। हात्ती मृत फेला परेको जानकारी स्थानीयले ८ः५० बजेतिर गराएका थिए। त्यस लत्तगै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको थियो। थप अनुसन्धानका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थल तर्फ आँउदै गरेको जानकारी माझीले दिनुभयो।
उनका अनुसार हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल देखिन्छ भने भाले हात्ती लगभग १२ देखि १५ वर्ष सम्मको हुनसक्ने बतानुभयो। बिहान ४ः३० बजेतिर घटनास्थल आसपासमा बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले दिएका छन्।
घटनास्थल नजिकै सामुदायिक वनको नर्सरी छ। नर्सरीभित्र रहेका बेला हात्तीमाथि गोली प्रहार गरिएको आशंका गरिएको छ। गोली लागेपछि घस्रिदैं र रन्थनिदै तारजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि ढलेको पाइएको छ। नर्सरी र हात्ती ढलेको ठाउँ लगभग सय मिटर जति टाढा छ ।
स्थानीयले दिएको जानकारी र घटनाको प्रकृति हेर्दा गोली हानेरै हात्तीलाई मारिएको प्रष्ट हुने माझीले बताउनुभयो। चोरी सिकारीमा संलग्नले हात्ती मारेको आशंका रहेको र प्रहरी,वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको जानकारी माझीले दिनुभयो।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु विज्ञको टोली आइपुगेपछि पोस्टमार्टम गरेर हात्तीको दासंस्कार गरिने र थप अनुसन्धान अघि बढाइने माझीले बताउनुभयो। घटनास्थलमा रगताम्य रहेको र गोली लागेपछि हात्तीले रगत बान्ता गरेजस्तो देखिएको छ। वनको नर्सरीदेखि हात्ती मृत भेटिएको स्थानसम्म रगतैरगत छ।
भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले कोशी प्रदेशका झापा,मोरङ र सुनसरीमा उधुम मच्चाइरहेको छ। सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरिरहेको छ। हात्तीको आक्रमणबाट साउन यता झापामा ५,मोरङ र सुनसरीमा १/१ गरेर ७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिन्छ।
उक्त हुलमा २७ वटाभन्दा बढी हात्ती रहेको बताइएको छ । हात्तीले मान्छे मार्ने देखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको छ। कोशीका तराई जिल्लामा गत मंसिर पहिलो साताबाट जंगली हात्तीको समस्या बढेर गएको छ ।




















