काठमाडौँ, १३ पुस
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले बताउनुभयो ।
यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय युवकको मृत्यु भएको थियो । रोजगार अनुमति प्रणाली ई.पी.एस.मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शन स्थलबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।