ताप्लेजुङ, १३ पुस 

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा रु.६८ लाख बढी भेटी रकम सङ्कलन भएको छ । गत कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी रकम रु.६८ लाख ११ हजार एक सय १० रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

 दुई महिनाको समेत गरी हाल बैंकमा रु.आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभएको छ । 

पछिल्लो १५ महिनामा रिफाइन नगरिएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको क्षेत्र विकास समितिले जनाएको हो । सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । वि.सं.२०७७ भदौ १८ गतेदेखि २०७९ साल भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल थियो । यस्तै छ हजार पाँच सुय ३५ किलो सात सय ७५ ग्राम तामा र १६ हजार तीन सय ६८ किलो एक सय ग्राम घण्टीसमेत तौल गरेर भण्डारण गरिएको समितिले जनाएको छ । 

पाथीभरा क्षेत्र विकास समिति २०५३ सालमा गठन भए पनि पाथीभरामा सङ्कलन भएको भेटीघाटी २०७६ सालदेखि पाथीभरा क्षेत्र विकास समितिले हेर्दै आएको समितिका अध्यक्ष रक्की थेबेले बताउनुभएको हो । 

तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटी व्यवस्थापन समिति गठन गरेर भेटी व्यवस्थापन हुँदै आएको थियो । पुनः उक्त समिति विगठन गरी पाथीभरा क्षेत्र विकास समितिले नै हाल व्यवस्थापन गर्दै आएको छ । वि.सं.२०७६ अघिसम्मको भेटीघाटी भने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले गर्दै आएको थियो ।

 पाथीभरामा मङ्सिरपछि सङ्कलित भेटी गणनाका लागि थप कर्मचारी व्यवस्थापन गरेर गणनाका लागि आवश्यक तयारीमा खटाइएको हाङबाङले बताउनुभयो । पाथीभरा क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजान केही जनशक्ति थपेर काम भइरहेको उहाँले जानकारी दिनुभएको छ । 

पाथीभरा क्षेत्रको सरसफाइ,भेटीलाई समयमै व्यवस्थापन गर्न र पाथीभराको प्रचारप्रसारसहितका सम्पूर्ण गतिविधिलाई आम मानिसमा पुर्‍याउन थप कर्मचारी व्यवस्थापन गरेर अघि बढेको उहाँले बताउनुभयो । पाथीभरामा सङ्कलित भेटीलाई हरेक महिनामा सार्वजनिक गर्ने गरी आवश्यक तयारी भएको कार्यकारी निर्देशक हाङबाङले बताउनुभएको छ ।