स्याङ्जा,१३ पुस
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताउनुभएको छ । भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले छानबिन प्रक्रियाप्रति आफू पूर्णरुपमा सन्तुष्ट नरहेको बताउनुभएको छ । “भ्रष्टाचार, तस्करी, सुनकाण्डलगायतका विषयमा जब छानविन सुरु हुन्छ तब ठूला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ र दोषी जोसुकै भए पनि सजायको भागीदार हुनैपर्छ”, उहाँले भन्नुभयो ।
मन्त्री गुरुङले गठबन्धनमा रहेका पार्टीको स्वीकृतिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनःगठन गर्नसक्ने बताउनुभएको छ। मन्त्रीहरुको कामको मूल्याङ्कन, पार्टीको स्वीकृतिमार्फत मन्त्रिपरिषद् पुनःगठन हुनसक्ने उहाँको भनाइ थियो ।
“प्रधानमन्त्रीको सोचअनुसार काम गर्न सक्ने मन्त्रिमण्डलमा अटाउनु हुन्छ”, उहाँले भन्नुभयो, “सोअनुसार काम गर्न नसक्ने बिदा हुनुहुन्छ ।” मन्त्रिमण्डल पुनःगठन गर्दा गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरुको सहमतिबाटै हुने उहाँले बताउनुभएको हो ।