भोजपुर, पुस १२ गते।

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । यस पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्ने गरेको छ ।

ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो ।अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहज रूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ । स्थानीयले ठेकेदारको लापरवाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन् । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताउनुभएको छ।पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको छानबिन तत्काल गर्नुपर्ने माग स्थानीयले राखेका छन्। 

लापरवाहीका कारण यसअघि पनि भोजपुरका स्वीस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुलहरु भत्किएका थिए ।