उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको केन्द्रविन्दुमा पुग्नुभएको छ । भूकम्प आएदेखि निरन्तर प्रभावित क्षेत्रमा खटिनुभएका उपप्रधानमन्त्री खड्का आज विहान जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा पुगी रक्षामन्त्री समेत रहनुभएका खड्काले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो । उहाँले भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनःनिर्माणमा लगाउने बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्याङ्क आफूले प्राप्त गरिसकेको भन्दै प्राथमिकताका साथ राहत वितरण हुनेछ भन्नुभयो । केही राहत सामग्री आइसकेको र थप सामग्री आउने क्रममा रहेको जानकारी दिँदै उपप्रधानमन्त्री खड्काले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा जोड दिनुभयो ।
सो अवसरमा भूकम्प प्रभावित जनताले आफूहरुले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको भन्दै उपप्रधानमन्त्री खड्कासँग पुनःस्थापनाको काम छिटो गरिदिन आग्रह गर्नुभएको थियो ।