पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड–१९ को महामारीका समयमा जिल्ला अस्पतालमा आइसियु स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भएको १० शय्याको उक्त आइसियू कक्ष सञ्चालन हुन नसकेपछि जिल्ला अस्पतालमा उपचार हुने बिरामी तराईका अस्पताल जान बाध्य भउका हुन् ।
सङ्घीय सरकारको सहयोगमा रू दुई करोडको लागतमा छ वटा भेन्टिलेटर र पाँच वटा डायलाइसिस मेसिन जडान गरिएको अस्पतालमा सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार डायलाइसिस मेसिनको कात्तिक पहिलो साता परीक्षण गरी नियमित सञ्चालनको तयारी थालिएको छ ।
जनशक्ति र प्रयोग हुने औषधिको अभावमा आइसियु तत्कालै सञ्चालन हुनसक्ने अवस्था नभएको जोशीको भनाइ थियो । आइसियु सञ्चालन नहुँदा गत आवमा मात्रै एक सय ९२ जना बिरामीलाई जिल्ला अस्पतालबाट अन्यत्र पठाइएको उहाँले जानकारी दिनुभयो ।
दुर्गम क्षेत्रमा सेवा दिने स्वास्थ्यकर्मीलाई उचित सेवा सुविधाका साथै काम गर्ने वातावरण नहुनु, सुरक्षामा चुनौती र भौगोलिक कठिनाइलगायत कारण चाहेअनुसार स्वास्थ्यकर्मी राख्न नसकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बुद्धिबहादुर थापाले बताउनुभयो । अस्पतालमा आइसियु सेवा सञ्चालन गर्नसके गम्भीर प्रकृतिका बिरामीलाई ठूलो राहत पुग्ने र रेफर गर्नुपर्ने अवस्थामा कमी आउने उहाँको भनाइ थियो । उपकरण भएर पनि सञ्चालन गर्न नसक्दा दुर्गम क्षेत्रका सेवाग्राही मर्कामा परेका उहाँले बताउनुभयो ।