सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीचमा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् ।
नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउँदै सरकारलाई धन्यवाद दिए ।
एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् ।
यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ ।