सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर २९ तारिखदेखि सुरु हुने विन्टर सेड्युलका टिकट बिक्री नगर्न निर्देशन दिएको थियो।
प्राधिकरणले कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभल्सलाई टिकट बिक्री नगर्न निर्देशन दिएको थियो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राधिकरण र कोरियाको नागरिक उड्डयन हेर्ने निकाय भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय (मोलिट) सँग भएको छलफलमा नेपालबाट पनि कोरिया उडान सुरु गर्न सहमतिसहित कोरियन एयरको उडान नरोकिने बताए।