नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको हो । आजदेखि असोज २३ गतेसम्म अनलाइनबाट र २६ देखि २९ गतेसम्म भौतिक उपस्थितिमा प्रशिक्षण दिन लागिएको सहजकर्ता सुस्मिता पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका गणितका महत्वपूर्ण पाठ्यवस्तु र त्यसको अध्ययन अध्यापनलाई प्रभावकारी र उपादेयतापूर्ण कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ । सहभागीलाई छ अलगअलग समूहमा विभाजन गरी शैक्षिकशैली सिकाइनेछ भने उहाँहरूलाई पनि प्रस्तुतीकरण तथा परीक्षाका शृङ्खला समावेश गराइने तालिमका संयोजक डा जीवन काफ्लेले बताउनुभयो । यसबाट सिकाइ थप प्रभावकारी हुने विश्वास लिइएको उहाँको भनाइ थियो । निक सिमोन्स फाउन्डेसनको सहयोगमा विगत केही वर्षदेखि समाजले गणितको अध्ययनअध्यापन तथा अनुसन्धानसँग सम्बन्धित कार्यक्रम तथा गतिविधि सञ्चालन गरिरहेको छ ।

देशभरका विभिन्न विद्यालयका गणित शिक्षकले आवश्यकता र औचित्यका आधारमा निर्देश गरेको अवधारणाअनुसार विज्ञद्वारा फरकफरक चरणमा कार्यशाला गोष्ठी तथा परिचर्चा गरिने बताइएको छ ।