नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टा अघि नै त्यस्तो प्रक्रिया पूरा गरी विद्युत् बिक्री गर्न पाउने भएको हो । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आज मात्रै रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि ‘बिडिङ’ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउनेछ । भारतको विद्युत् मन्त्रालयले गत १५ साउनमा विद्युत् आयात निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९ दशमलव चार मेगावाटको तल्लो मोदी र २४ दशमलव २५ मेगावाटको काबेली बी१ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट बिद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ । यी दुवै आयोजनाको विद्युत् अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो । डे अहेड मार्केटमा दिइएको अनुमति आज सकिँदै थियो । डे अहेडको नवीकरणका लागि पठाइएकामा दुई आयोजनाको विद्युत् डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिनुभयो । अब दुई आयोजनाको विद्युत् डे अहेड र आवश्यकताअनुसार रियल टाइम मार्केटमा बिक्री गर्न सकिने निर्देशक अधिकारीले उल्लेख गर्नुभयो ।