आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पञ्चाङ्गमा उल्लेख छ ।

प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने गौतमले बताउनुभयो ।

कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ ।