नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ ।
इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार इजरायलमा सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा देखाएको छ ।
पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदारका रूपमा नेपाली लैजाने इजरायलले रुचि देखाएकाले अहिले सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउने तयारी थालिएको प्रवक्ता तथा सहसचिव घिमिरेले बताउनुभयो । यसैगरी पहिलो चरणमा इजरायलमा गएकाहरूको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रममन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा छनोट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा इजरायलबाट दोस्रो चरणमा पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदार माग गरिएको मन्त्रालयले जनाएको छ ।