काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ ।भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । बुधबार कुमारीको पूजा गरिएको थियो । इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७ मिनेटको साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ ।
काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्रा अवलोकनका लागि चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका, सियान सिटी तथा अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् ।
जात्रा अन्तर्गत असोज १० गते जीवित देवी कुमारी, गणेश र भैरवको पूजा गरिएको थियो । आज ती देवीदेवताको रथयात्रा हुने छ । रथयात्राको रुटमा सबै प्रकारका सवारी साधनहरु निषेध गरिएको छ ।
इन्द्र जात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।