६० किलो ७१६ ग्राम सुन तस्करी गरेको प्रकरणमा आजदेखि थुनछेक बहस सुरू भएको छ। बुधबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा थुनछेक बहस सुरू भएको हो।
पहिलो दिनमा सरकारी वकिल कार्यालय काठमाडौंका तीन जना वकिलले बहस गर्नेछन्। उनीहरूले आजै बहस सक्ने तयारी गरेका छन्।
त्यस्तै शुक्रबारदेखि भने प्रतिवादीका वकिलले बहस गर्नेछन्। कतिजनाले बहस गर्छन् भन्ने टुंगो लागेको छैन। मंगलबार सबै प्रतिवादीहरूको बयान सकिएको थियो।यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २९ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। त्यसपछि सरकारी वकिलले २९ जनाविरूद्ध भदौ ३१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
संगठित अपराध निवारण ऐन २०७०, भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा दर्ता गरेको थियो।
चिनियाँ नागरिक एलेक्स भन्ने याओ पुचेङ, ली वेन सुङ, लि नेंकाइ, दिंग सेग्फा, लिन चछयाङ, भारतीय नागरिक टासी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक याङ वेन, र टियान मी पक्राउ परेका छन्। यस्तै कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठ र रूकमिना सुब्बालाई प्रतिवादी बनाएको छ।
कलैया उपमहानगर-१ बस्ने भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएका अमला रोका फरार छिन्।
