नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा लामिछाने विरूद्धको मुद्दा आज सुनुवाइ हुने सूचीमा रहेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

यसअघि असोज १ गते सुनुवाइ हुन लागेपनि न्यायाधीश अभावका कारण स्थगित भएको थियो। त्यस दिन२८ न्यायाधीश भएको जिल्ला अदालतमा आज १६ जना न्यायाधीश मात्रै उपस्थित भएपछि ४० मुद्दा स्थगित भएका थिए।  

जिल्ला अदालतबाट न्यायाधीशहरू सरूवा भएको र सरूवा भएर काठमाडौं आउने न्यायाधीशहरू नआइसकेकाले १० वटा इजलास आजपनि खाली रहने दाहालले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतमा पनि गोला थुतेर इजलास तोकिन्छ। यसअघि गोला थुत्ने क्रममा सन्दीपको मुद्दा त्यसदिन उपस्थित कुनैपनि न्यायाधीशको इजलासमा नपरेपछि स्थगित भएको थियो।

सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन।