प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका जाँदैहुनुहुन्छ।आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उहाँ अमेरिकाको न्युयोर्क जानुहुनेछ।
१८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको हो।
भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना हुनुहुन्छ भने परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ।
प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहनुभएको छ।महासभाको ७८ औं सभालाई प्रधानमन्त्रीले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नुहुने छ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनुहुने छ । महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नुहुने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट चीन जानुहुने छ।
