६० किलो सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन राय दिएको छ।

आज  काठमाडौं सरकारी वकिलको कार्यालयमा सिआइबीले  प्रतिवेदन बुझाएको हो। जसमा ६ जनालाई मुद्दा नचलाउन सिफारिस भएको छ । 

भन्सार एजेन्ट रूक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, कार्गोका राजन श्रेष्ठ, गोदाम खोजिदिएको आरोप लागेका नरेश भन्ने सुरेन्द्र तामाङ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन र कमल परियारमाथि मुद्दा नचलाउन सिआइबीले राय दिएको हो। रूक्मिना सुब्बालाई राजश्व अनुसन्धान विभागले नै हाजिर जमानीमा छाडेको थियो। 

यस प्रकरणमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै सिआइबीले मुद्दा नचलाउने सिफारिस गरेको हो। केही दिनमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

सिआइबीले यस प्रकरणमा ३२ जनालाई पक्राउ गरेको छ। जसमा १८ जना फरार प्रतिवादी कायम गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो। फरार रहेका १८ मध्ये १४ जना विदेशी नागरिक छन्। उनीहरूको परिचय भने खुलाएको छैन। 

पक्राउ पर्नेहरूमा ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू छन्। चार जना भन्सार एजेन्ट, तीन कार्गो एजेन्ट, एक ट्याक्सी चालक, एक भाषा अनुवादक, दुई कम्पनी खोल्ने, दुई कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना छन्। सिआइबीले विशेषगरी प्राविधिक टोली, अनुसन्धान टोली, अपरेसनल टोली, अभिलेखीकरण गर्ने टोली र इन्टरपोलका एसपी नेतृत्वको छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान गरेको हो। 

अनुसन्धानको लागि सिआइबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डिएसपी धर्मराज भण्डारीको टोलीलाई भारतमा पठाएको थियो।