६० किलो सुन प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले मंगलबार प्रतिवेदन बुझाउने गरी तयारी भइरहेको बताए।
‘भ्यायो भने आज बुझाउने तयारी छ,’ उनले भने। मंगलबार सम्भव नभए बुधबार बुझाउने गरी सिआइबीले तयारी गरिरहेको हो।
अन्तर्देशीय अपराध देखिएको यो प्रकरणमा सिआइबीले संगठित अपराधमा अनुसन्धान गरिरहेको हो। प्रहरीले यसमा इन्टरपोलको समेत सहयोग लिएको छ। जसका लागि एसएसपी दिनेश आचार्य हङकङ र डिएसपी धर्मराज भण्डारी भारत समेत पुगेका थिए।
सुरूमा राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट भन्सार जाँच पास भएर छुटेपछि केही मानिससहित सुन बरामद गरेको थियो।
हङकङको क्याथे प्यासिफिक एयरबाट ल्याइएको १५५ किलोको ब्रेक शुभित्र ६० किलो ७१६ ग्राम सुन बरामद भएको हो। उक्त सुन रेडी प्रा ली नामको कम्पनीले मगाएको थियो। सुरूमा विभागले नै अनुसन्धान अघि बढाएपनि पछि अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिइएको थियो।

त्यसयता सिआइबीले अनुसन्धान गरिरहेको हो। संगठित अपराधमा ६० दिनको समय हुने भएकाले प्रहरीले अहिले मुद्दा बुझाउन लागेको हो। केही दिनमा सरकारी वकिल कार्यालयले अभियोजन गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।सिआइबीले यस प्रकरणमा ३० जनालाई पक्राउ गरेको छ। एक जना भने हाजिर जमानीमा छन्।
पक्राउ पर्नेहरूमा बेल्जियन नागरिक दावा छिरिङ, रेडी प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भन्सार अधिकृत सन्तोष चन्द, भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा कमल परियार, नायब सुब्बा वीरेन्द्र नेपाली, खरिददार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ प्रहरी हिरासतमा छन्।
भन्सार एजेन्ट यादवशंकर पराजुली, राजेन्द्र राई, सुदर्शन गौतम, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भारतीय नागरिक थाप्तेन छिरिङ, गणेश पौडेल, किशोर बस्नेत, सुमन खरेल, सुरेन्द्र तामाङ र बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सफर पनि प्रहरी हिरासतमा छन्।
यस्तै डिंग सेग्फा, वेन टोंग, टियान मी, ली नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग र जीक्वाङ लिन पनि पक्राउ परेका छन्।यसअघि पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिनी सुब्बा हाजिर जमानीमा छिन्। उनको स्वास्थ्य अवस्थाका कारण छाडिएको थियो।
सिआइबीको अनुसन्धानबाट यो प्रकरण र केही समय अघि इलेक्ट्रिक चुरोट भेप भित्र राखेर भित्र्याएको नौ किलो सुन प्रकरण पनि लिंक भेटाएको छ। सिआइबीका एक अनुसन्धान अधिकृतका अनुसार दुबै सुन तस्करी गर्ने एकै समूहका हुन्। उनीहरूले सुन तस्करी गरी भारत पुर्याएर बेच्ने गरेका थिए।
विमानस्थल भन्सार कार्यालयले भेप बरामद गरेपछि पूर्ण सभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको सुन तस्करहरूसँग सम्पर्क गरेको देखिएको थियो।
भेप प्रकरणमा सुन चोरी गर्ने कर्मचारीहरूको समूह पक्राउ परेपनि सुन भित्र्याउने तस्कर फरार भइसकेका थिए। राहुल महरा र कृष्णबहादुर महराले विमानस्थल भन्सारमा सम्पर्क गरी भेपको लिलामी प्रक्रियाबारे समेत बुझेका थिए।
त्यसैको अनुसन्धानको सिलसिलामा राहुल महरा पनि प्रहरी हिरासतमा छन्। तर उनलाई भेप प्रकरणमा प्रतिवादी बनाउँछ वा यसैमा भन्ने टुंगो लागिसकेको छैन।