हिमालय एयरलाइन्सको  काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सुरू भएको छ। एयरलाइन्सले सातामा एउटा उडान गर्ने गरी आजबाट उडान थालेको हो।

एयरलाइन्सकाअनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ १५ मा छिन्ताओका लागि उडेको हो। जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५ २२ बजे अवतरण गर्नेछ। उडानको अवधि ५ घण्टा ५० मिनेटको हुनेछ। पहिलो उडानमा एक सय जना यात्रु रहेका छन्।

दुई देशबीच कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले उडान थालेको कम्पनीले बताएको छ। एयरलाइन्सका अध्यक्ष झोउ एनयोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान हिमालय एयरलाइन्सका लागि महत्वपूर्ण उपलब्धी हुने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडानले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्ने बताए।

यस रूटबाट हिमालय एयरलाइन्सले धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु। यसै अवसरमा छिन्ताओवासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु, मन्त्री किरातीले भने।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सुरू गरिएको रूटप्रति उत्साह व्यक्त गरे। उनकाअनुसार हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने हो।

हिमालयले नेपालबाट चीनको लागि नयाँ रूटहरुमा उडान गर्दै आएको छ। काठमाडौं–छिन्ताओ–काठमाडौं यात्राका लागि यात्रुले एयरलाइन्सको टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्न सक्नेछन्।