अमेरिकी नागरिकता लिएका एक व्यक्तिले नेपालीलाई बेचबिखन गरेको पाइएको छ।पश्चिम नेपालको रूकुम घर भई हाल अमेरीकाको नागरिकता लिएका हस्त गौतमले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी तस्करी गरेको पाईएको हो ।
मुख्य योजनाकार हस्त गौतम अमेरिकाको टेक्सास बस्ने ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा खुलेको छ।
गौतमले अमेरिका पठाउने भन्दै दुई करोडभन्दा बढी ठगी गरेको पनि पाइएको छ । पश्चिम नेपालको रूकुमस्थित सिस्ने गाउँपालिकाको नाथीगाड घर भएका गौतम अमेरिकामा बस्दै आएका छन् ।
गौतमका सहयोगी कमल तामाङसहित अन्य तीन जनाविरूद्ध भने यसअघि नै पाँच मुद्दा दर्ता गरी ब्युरोले अनुसन्धान थालिसकेको छ।गौतमले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई पाँच जना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलंका, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ। उनीहरूबाट पीडित बनेका चार जनाको उद्धार गरिएको छ भने अझै दुई जनाको उद्धार गर्न बाँकी रहेको छ । १३ नेपालीलाई विभिन्न देश पठाउने भनी अलपत्र पारेको उजुरी परेको छ।
अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरूपयोग गरेको पाइएको छ। गौतमले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्याइ राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए।
एजेन्टले भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ। गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















