‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि, साक्षरताको प्रवर्द्धन’ भन्ने मूल नारासँगै आज देशभर ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ । सरकारले २०८०/८१ भित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य लिएर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै आएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गतवर्ष साक्षरता घोषणा भएका जिल्लाहरुलाई सम्मान एवं प्रसंशापत्र प्रदान गर्ने, छलफल, बहस, अन्तरक्रिया वृक्षारोपण, साक्षरता सम्बन्धी लोकदोहोरी गीत छायांकन एवं प्रशारण गर्ने लगायतका देशभर कार्यक्रम गरिरहेको जनाएको छ ।केन्द्रका अनुसार अहिलेसम्म ६४ (पाँच प्रदेशका) जिल्ला साक्षर घोषणा भइसकेका छन् । ५ वर्षमाथि ७६।२ प्रतिशत र १५–६० वर्ष उमेर समूहको ८५ प्रतिशत साक्षर रहेका छन् । मधेश प्रदेश र कर्णाली प्रदेशका १३ जिल्ला साक्षर घोषणा हुन बाँकी रहेका छन् ।

केन्द्रका अनुसार मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालिकोट र डोल्पा जिल्ला मधेश प्रदेशका १३४ र कर्णाली प्रदेशको १७ वटा पालिका साक्षर घोषणा हुन बाँकी छ ।