विराटनगर ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको परम्परागत रथयात्रा कोरोना महामारी पछि भव्य एवम् धार्मिक रुपमा विराटनगरमा निकालिएको छ ।

आज विराटनगरमा ५५ औं संस्करणको रथयात्रा निकालिएको हो । वि.सं. १९८८ देखि विराटनगर वासीले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर वडा न.१ पोखरिया स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडी सहितको रथयात्रा निकाल्ने परम्परा रही आएको छ । रथको अगाडि अगाडि सांस्कृतिक झाँकीहरुको प्रस्तुत रहेको छ । 

  विगत ९३ वर्षदेखि मनाइदै आएकोे विराटनगरको राधाकृष्णको रथयात्रालाई पूर्व कै प्रमुख पर्वका रुपमा लिने गरिन्छ । रथ तान्ने डोरी छोएमा आफुले गरेको पापबाट मुक्ति पाइने भएकाले डोरी छुन भक्तजनहरु बीच तछाडमछाड नै हुने गर्दछ । 

rathyatra (2)

 करिब ९ किलोमिटरको दुरी पार गरी पुनः सोही मन्दिरमा र्फकने गरेको सो रथयात्रामा नेपाल र भारतका विभिन्न ठाँउबाट आएका हजारौं दर्शनार्थीहरु सहभागि भएका थिए । रथयात्रा बजारको ४३ स्थानमा विश्राम गराइनेछ । रथयात्राका लागि ५ सय बढी स्वयंसेवक परिचालन गरिएको छ भने सुरक्षाको लागि ५ हजार प्रहरी परिचालन गरिएको छ ।

यसपटकको रथयात्रामा बीरगंज, ललितपुर र पोखरा महानगरपालिकाका मेयरहरु सहित विभिन्न उपमहानगरपालिका र नगरपालिकाहरुको समेत सहभागिता रहेको थियो ।