नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ।राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष आइसियुमा उपचार भइरहेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालले जानकारी दिए।

सहमहामन्त्री यादवको टाउकामा गम्भीर चोट लागेको र सिटी स्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको उनले बताएका छन्।

उनको टाउकाको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जन चिकित्सकद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउका टाँका लगाइएको छ।

सहमहामन्त्री यादवमाथि बुधबार दिउँसा साढे २ बजे भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब अगाडि खुकुरी प्रहार भएको थियो। उनलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो।