राधाकृष्णको जोडीलाई भव्य रथको अग्रभागमा राखेर  हजारौं  श्रद्धालुको लर्कोले उल्लासपुर्वक नगर परिक्रमा गराइने विराटनगरको रथयात्रा यहाँको साँस्कृतिक पहिचान बनिसकेको छ।

श्रीकृष्ण जन्माष्ट्मीको भोलिपल्ट निकालिने त्यही राधाकृष्ण रथयात्राको  ५५ औं संस्करण आज  आयोजना हुँदैछ। पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको यसपटकको रथयात्राको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

५५ वर्षयता विराटनगरमा हरेक वर्ष जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ। कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै  निकालिएको थियो। आयोजक समितिका अनुसार यसपटक  विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ।

वि।स। १९८८ मा खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रामा परिणत भएको यो धार्मिक उत्सवमा यसपटक नेपाल र भारतबाट श्रद्धालुहरुसहित विभिन्न नगरका मेयरहरु पनि सहभागी बन्दैछन्। आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ। हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता हुने गरेको छ ।

‘यसपटकको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ’, मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले भने ‘विराटनगरको साँस्कृतिक र धार्मिक वैभव बनेको रथयात्रा भव्य तुल्याउन हामी सबैमा अपिल गर्दछौं ।’

अत्यधिक जनसहभागिता हुने रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार पाँच हजार सुरक्षाकर्मीले रथयात्रालाई सुरक्षा प्रदान गर्नेछन्। प्रहरीले पनि रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरेको छ।

राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले सर्वसाधारणलाई ११ बुँदे सुझाव दिँदै सूचनासमेत  जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले एक सूचना जारी गर्दै राधाकृष्ण रथयात्रामा लाखौंको संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने जनाएको छ।

यस्तै रथयात्राका क्रममा भागदौड मच्चिई मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, बृद्ध बृद्धाहरू घाईते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले ११ बुँदे सूचना जारी गरेको हो।

प्रहरीले प्रभावकारी सुरक्षा व्यवस्थाको लागि भन्दै बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामाग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग राधाकृष्ण मन्दिर तिनपैनी चोक–ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक–दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिर० र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको हो।

यस्तै सवारी साधनहरूमा ह्यान्डल लक, ह्विल लकलगायतका सुरक्षाका अतिरिक्त विधिहरु अपनाउन, सिसिटीभी तथा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, आफ्नो साथमा बालबालिकाहरू लिई समारोहमा नआउन, वृद्धवृद्धाले साथमा सहयोगी लिएर मात्र आउन प्रहरीले आग्रह गरेको छ।