बिराटनगर २० भाद्र
श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी बिराटनगरमा पनि श्रद्धा–भक्तिपूर्वक साथै भव्यताका साथ मनाइदै छ ।
बिराटनगरको राधाकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुइचो लागेको छ। साना बालबालिकाहरूलाई राधाकृष्णको रूपमा सिंगार गरेर मन्दिरमा दर्शन गर्न ल्याएको र आज भगवान श्रीकृष्णको पूजाआराधना गर्नाले र ब्रत बस्नाले चिताएको मनोकामना पूरा हुने विश्वास लिइएको छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ ।
श्रीकृष्णले बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउदै आएको, पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका पौराणिक ग्रन्थमा उल्लेख भएको छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको चर्चा पनि छ ।
यसैगरी सरकाले श्री कृष्ण जन्माष्टमीको अबसरमा सार्वजनिक बिदा समेत दिएको छ । आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गगर्दै व्रत बसेर रातभर जाग्राम बस्ने चलन चल्दै आएको छ । यसैगरी भोली या श्री कृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा झाँकीसहित रथयात्रा निकाल्ने चलन रहिआएको छ ।