सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका(११ का पेमा तामाङको छोरो बनेर निमा तामाङका नाममा नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको छ । उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा हुनुहुन्थ्यो ।
समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो । उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो । सो नागकिरताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले कीर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छ।