सुन बरामद प्रकरणको अनुसन्धानका लागि सीआईबीले  इन्टरपोलको सहयोग मागेको छ । सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब–ब्यूरो र भारतको नेश्नल सेन्ट्रल ब्यूरो दिल्लीलाई सहयोग माग्दै पत्राचार गरेको हो ।  हङकङबाट आएको सुन साउन ३ गते  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट  बरामद भएको  थियो   । त्यसैले सुन पठाउने व्यक्तिहरु र त्यहाँको थप नेक्ससबारे सूचना प्रहरीले हङकङस्थित इन्टरपोलका अधिकारीहरु मागेको छ ।

सुन बरामद नेपालमा भएपनि  त्यस्को गन्तव्य भारत भएकाले त्यहाँ अधिकारीहरुसँग पनि सहयोग मागिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । साथै, नेपालमा सुनसहित पक्राउ परेका चिनियाँ नागरिकहरु यसअघि भारतमा पनि पक्राउ परेको सूचना प्रहरीले पाएको छ ।‘

प्रकरणमा प्रहरीले चिनियाँ नागरिक ओ फुछङ्, ली वन् सुङ, डिङ सेल्फा, ली नेङ्काई लगायतलाई पक्राउ गरेको छ । सेल्फा र नेङ्काईलाई प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर पक्राउ गरेको थियो ।

उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ । प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।