विराटनगर ८ भाद्र ।
संसदीय पत्रकार मंच कोसी प्रदेशको आयोजनमा बजेट निर्माण र आर्थिक संघीयता कार्यान्वयनको सबाल विषयक अभिमुखीकरण सम्पन्न भएको छ ।
उद्योग संगठन मोरङको सहकार्यमा शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलले मौद्रिक नीति र प्रादेशिक अवस्थितिको विषयमा प्रस्तुति दिनुभयो । समग्र अर्थतन्त्रमा मौद्रिक नीतिले पार्ने प्रभावबारे खरेलले जानकारी गराउनु भयो ।
प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया र मिडियाको सन्दर्भमा आर्थिक मामिला तथा योजना मन्त्रालय कोसी प्रदेशका अधिकृत विदुर पौडेलले प्रस्तुति दिनुभयो । सरकारले प्रस्तुत गर्ने बजेट निर्माणको प्रक्रियामा यसको प्राथमिकीकरण र कार्यान्वयनका विषयमा पौडेलले प्रस्ट पार्नुभयो ।
यसैगरी अहिले आमसंचारको माध्यम र सामाजिक संजालमा आउने तथ्यांक र मिथ्यांकको विषयमा वरिष्ठ पत्रकार लेखनाथ पाण्डेले प्रस्ट्याउनु भयो । त्यस अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले देशको आर्थिक अवस्था खस्कदो अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीको पलायन रोक्न जरुरी भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोसी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे र संसदीय पत्रकार मंच कोसी प्रदेशका अध्यक्ष कुमार लुइँटेलले संसदीय मामिलासँगै आर्थिक पत्रकारिताको अवसर प्रदेशस्तरमा बढ्दै गएको चर्चा गर्नुभयो ।