त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका छन् । उनको साथबाट प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी आठ लाख ५० हजार नेपालीसहित बिहीबार पक्राउ गरिएको हो।

काठमाडौँबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा  फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निजलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए।