अहिलेसम्म भएका सुन तस्करीको छानबिन र अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्ने संसदमा रहेका प्रमुख दलहरुबीच सहमति भएको छ ।
सहमतिमा साउन २ गते ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो भन्दा बढी सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान सकेलगत्तै सरकारले जाँचबुझ आयोग बनाउनेछ । अहिले भइरहेको अनुसन्धानमाथि प्रश्न उठाउँदै नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
तर एमालेले संसद अवरोध गर्दै आएको करिब एक महिनापछि दलरुबीच ६० किलो भन्दा बढी सुन तस्करीमा सीआईबीले अनुसन्धान सकेलगत्तै आयोग बनाउने सहमति भएको छ । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुबीच भएको सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई अभियोजन गर्ने छ ।’