बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा कीर्ते गरेर हडपेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेपछि ४८ जनाले जग्गा फिर्ता गर्ने भन्दै निवेदन दिएको खुलेको छ ।

सीआईबीले  बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा जग्गा फिर्ताका लागि निवेदन दिएको भन्दै सरकारी लिखत कीर्ते र संगठित अपराधको मुद्दाबाट छुटकरा दिइएको हो । उनीहरुलाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । ‘मुल उद्देश्य जग्गा फिर्ता गराउने भएकाले फिर्ता गर्छु भन्नेलाई कीर्ते र संगठित अपराधमा मुद्दा लैजान राय दिएनौं’, सीआईबीका एक अधिकृतले भने, ‘मुद्दा फिर्ता गर्ने प्रयोजनका लागि मात्रै ४८ जनालाई प्रतिवादी बनाएका छौं ।’

सीआईबीले जग्गा फिर्ता प्रयोजनबाहेक २३८ जनालाई मात्रै सरकारी लिखत कीर्ते र संगठित अपराधमा प्रतिवादी बनाएको छ । ललितानिवासको जग्गा लिनेमध्ये सिपिका खेतानसहित ४८ जनाले मालपोत कार्यालय, डिल्लीबजारमा पनि निवेदन दिएका थिए ।