नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो ।सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएपछि ज्ञवालीलाई सरुवा गरिएको हो । ।
नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला उनको सरुवा भएको हो । शुक्रबार मन्त्रालयको प्रस्तावमा एआईजी सरुवाको निर्णय भएको हो ।
ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो । उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दिपक थापाको सरुवा भएको छ ।
प्रशासनमा एआईजी मिरा चौधरीको सरुवा भएको छ । चौधरी कार्य विभागमा कार्यरत थिइन् । कार्यमा एआईजी श्याम ज्ञवाली पठाइएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ । मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन् ।
राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै यसअघि नै प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवरसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए ।

राई प्रतिआतंकवाद र अन्तरदेशीय संगठित अपराध अनुसन्धानमा काम गर्ने प्रहरीको गुप्तचरी निकाय विशेष ब्यूरोमा लामो समय काम गरेका अधिकृत हुन् । झण्डै तीन दशक लामो प्रहरी सेवामा उनले चौथो पटक प्रहरीको कुनै युनिटको नेतृत्व गरिरहेका थिए ।