सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ छुटेका छन्। त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको सुन प्रकरणमा पक्राउ परेका उनिहरुको संलग्नता नदेखिएको भन्दै छाडिएको हो। कालोसूचीमा परेका उनिहरु हिमालयन एयरको उडानबाट चीन जान लागेका थिए तर अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सिआइबीलाई बुझाएको थियो। यसैगरी पक्राउ परेका व्यवसायी रोहन अडुकियालाई पनि राजश्व र सिआइबीले बुझ्न नमानेपछि पनि शनिबार छाडिएको छ।
झन्डै १०० किलो सुन प्रकरणमा अहिलेसम्म १७ जना सिआइबीको हिरासतमा रहेका छन्। भन्सार एजेन्ट रूक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्।
पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। उनीहरूको कार्य(सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।