राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गरेका छन् ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति पौडेललाई भेट्न शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए । बिहान १० बजेदेखि आधा घण्टा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले ‘संसदमा देखा परेको राजनीतिक गतिरोध फुकाउन के भइरहेको छ ?’ भनी चासो राखेका थिए ।जवाफमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सदन खुलाउन गरेको पहल र आन्तरिक छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएको सभामुखमा प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।