संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिनुभयो । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका जेलर राजेन्द्र घिमिरेले जानकारी दिनुभएको छ ।बिनोद जबरजस्ती करणी मुद्दामा १८ वर्ष र आकाश चोरी मुद्दामा तीन वर्ष जेल सजाय भोगिरहेका थिए ।
उनका अनुसार आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएको तर ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखेपछि बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए । ‘उनीहरुलाई अस्पताल लैजाने क्रममा मृत्यु भयो,’ सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने । घटनाबारे अनुसन्धान जारी रहेको छ ।




















