नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक एसपी सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका  छन् ।

त्रिभुवन विमानस्थल भन्सार  कार्यालयबाट बाहिरिएको सुन साउन २  मा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । सो प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेर विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो ।  सुन तस्करी प्रकरणमा प्राविधिक पाटोमा मात्रै अनुसन्धान गरिरहेको सीआईबीले आजदेखि औपचारिक रुपमै अनुसन्धान सुरु गरेको हो ।

यसअघि राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो । अहिले पंगेनीलाई पनि सीआईबीको अनुसन्धानमा सहयोग गर्न खटाएको प्रधान कार्यालय स्रोतले बताएको छ ।