नेपालका स्वतन्त्र रेडियोका संचालक तथा सम्वद्ध संघ संस्थालाई लक्षित गरी सुरेश अधिकारीको नामबाट सञ्चालित Facebook Account मार्फत आएको अत्यन्त अमर्यादित गाली गलौच, मानमर्दन र भ्रम सिर्जना गर्ने आसय सहितको अभिव्यक्ति प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपाली संगीत क्षेत्रका एकजना सर्जकका रुपमा सामाजिक पहिचान बनाएका व्यक्तिवाटै यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै अर्थमा पनि सभ्य समाजमा सुहाउँदो कुरा हुनै सक्दैन । यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउने मात्रै होइन सञ्चार माध्यम सितको सम्वन्धमा समेत दुरी बढाउने कार्य गरेको छ ।
संगीत रोयल्टी संकलन समाजका नाममा स्थापित एक गैर सरकारी तथा गैर नाफा मूलक संस्थाका नाममा राज्यको चौथो अंगको रुपमा स्थापित संचार उद्योगको सुसञ्चालन गर्न पाउने नेपालको संविधानको भाग ३ “मौलिक हक र कर्तव्य” अन्तर्गतको १९ औं दफा (संचारका हक) को ठाडो उलंघन गर्दै आम संचार गृहका उपकरणहरु समेत उठाउने बिषयमा समेत दिएको अभिव्यक्ति प्रति खेद व्यक्त गर्दै, नेपाल सरकार संग आम संचारगृहको सुरक्षाको माग समेत गर्दछौ ।
समाजले एक संगीत सर्जकद्धारा यसरी संचार माध्यमलाई लक्षित गर्दै प्रसारण गृहमा आक्रमण गर्ने सम्मको अभिव्यक्ति दिनु पक्कै पनि विधि, विधान र लोकतान्त्रिक चरित्र विपरितको कार्य भएकाले यस्तो अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्र वीचको सुमधूर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने कुराको महसुश गर्दै उहाका सम्पूणर् सांगितिक कृतिहरु रेडियोबाट प्रसारणमा गर्न नसकिने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत अवगत गराउन चाहन्छौं ।
संगीत रोयल्टी संकलन कार्यलाई राज्यले कानूनी आधार तयार गरि कुनै पनि सर्जक आफ्नो मौलिक अधिकारबाट बन्चित हुन नपरोस भन्ने सवालमा नेपालका स्वतन्त्र रेडियोहरु गम्भिर रहेको र समग्र सर्जकहरुको सम्मान प्रति उच्च भावनात्मकता प्रकट
गर्दछौ ।




















